दफा ५६४
जमानत दिने व्यक्तिको दायित्व

(१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक जमानत दिने व्यक्तिको दायित्व देहाय बमोजिम हुनेछ :
(क) दायित्व पूरा गर्नु पर्ने व्यक्तिले त्यस्तो दायित्व पूरा गर्न नसकेको बखतदेखि नै जमानत दिने व्यक्तिको दायित्व सृजना हुने,
(ख) जमानत दिने व्यक्तिको दायित्व ऋण तिर्नु पर्ने वा दायित्व पूरा गर्नु पर्ने व्यक्ति सरह हुने र तिर्नु वा पूरा गर्नु पर्ने दायित्वबाट निज मुक्त नभएसम्म जमानत दिने व्यक्ति जिम्मेवार रहने,
(ग) कानूनको परिचालनबाट ऋण तिर्नु पर्ने वा दायित्व पूरा गर्नु पर्ने व्यक्ति दायित्वबाट मुक्त हुँदैमा जमानत दिने व्यक्तिको दायित्व समाप्त नहुने ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै ऋण वा दायित्व वापत कुनै सुरक्षण र जमानत दुवै दिएको रहेछ भने त्यसरी दिएको सुरक्षणले खामेको हदसम्म जमानत दिने व्यक्तिको दायित्व हुने छैन ।
(३) साहूलाई तिर्नु वा पूरा गर्नु पर्ने दायित्व तिर्नु वा पूरा गर्नु पर्ने व्यक्तिबाट उल्लङ्घन हुनासाथ जमानत सम्बन्धी करार प्रभावकारी हुनेछ र साहूले जमानत दिने व्यक्तिबाट त्यस्तो दायित्व पूरा गराउन सक्नेछ।स्पष्टीकरण: यस भागको प्रयोजनको लागि “साहू” भन्नाले ऋण दिने व्यक्ति सम्झनु पर्छ र त्यस्तो शब्दले ऋण तिर्नु पर्ने वा दायित्व पूरा गर्नु पर्ने व्यक्तिबाट कुनै लाभ पाउने वा कुनै काम गराउन पाउने व्यक्ति समेत सम्झनु पर्छ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि जमानत करार बमोजिम जमानत दिने व्यक्तिबाट करार बमोजिम पूरा नभएको रकम वा दायित्व पूरा गर्न दाबी गर्नु अघि साहूले ऋणीलाई करारका शर्त वा बन्देज अनुसार करार परिपालन गर्न सूचना दिनु पर्नेछ ।